मधेस, मुद्दा र मर्का

शिवप्रसाद तिवारी
Shiva Prasad Tiwari

म पहाडीया जैसी बाहुन पुरूष हुँ। सामान्य किसानको परिवारबाट आएको र जीवनमा संघर्षबाट स्थापित हुन धेरै समय र मेहनत लगानी गरेको ठान्ने साधारण मानिस हुँ। म मधेस, मधेसी समाज र राजनीतिको विशेषज्ञ पनि होइन तर राजनीतिशास्त्रको विद्यार्थीका हैसियतले अहिले मधेसमा देखिएका समस्या र त्यहाँ उठाइएका विविध आवाजबारे सोचिरहेको र अध्ययन गरिरहेको हुन्छु।
स–साना लाग्ने सामाजिक मुद्दाले कसरी राजनीतिक असन्तोष र विद्रोहलाई जन्म दिन्छन् र कायम राखिरहन्छन् भन्ने विषय मधेसको सन्दर्भमा यहाँ छलफल गर्न खोजेको छु। सामाजिक व्यवहार र अनुभवले मानिसको मनोविज्ञान र सामाजिक चेतलाई कसरी प्रभावित गर्छ र राजनीतिक मुद्दा निर्माणमा कसरी भूमिका खेल्छ भन्ने विषयमा यस लेखमा छलफल गर्नेछु। त्यसका लागि व्यक्तिगत अनुभव र लेखकलाई थाहा भएका राजनीतिक र सामाजिक सिद्धान्तहरूको सरल तरिकाले उपयोग गरेको छु।
अहिले मधेसमा नेपाली राष्ट्र र राष्ट्रियता विरूद्ध आवाज उठ्न थालेका छन्। यसैले मधेसको बारेमा छलफल गर्नु अहिलेको सन्दर्भमा बाञ्छनीय देखिन्छ।
नेपाली राज्यले मधेसीहरूप्रति गर्ने विभेदपूर्ण व्यवहारले सम्भवत: राजाहरूको एकतन्त्रीय शासनकालमा खासगरी पञ्चायतकालभरि बढी व्यापकता पायो। राजनीति हुँदै यो विभेदले सामाजिक रूप पनि ग्रहण गर्यो। त्यसैको फलस्वरूप मधेसीहरू नेपाली राज्य र समाजबाटै पनि क्षणक्षणमा प्रताडित हुन पुगे। अहिले मधेसमा छिटपुट उठेको विखण्डनको मागलाई यसै सन्दर्भमा बुझ्नुपर्ने हुन्छ। यस्ता मागलाई बेलैमा बुझ्न र सम्बोधन गर्न (मधेसीहरूकै शब्दमा भन्नुपर्दा) पहाडे मानसिकतायुक्त नेपाली राज्य गम्भीर भएर लागेन भने यो भुसभित्रको आगो भित्रभित्रै फैलिएर अझै ठूलो विनाश निम्त्याउन पनि सक्ने अवस्थामा पुग्न सक्छ।
मधेसीमाथिका विभेदहरू : केही उदाहरण
मधेसीले पहाडमा झेल्नु परेको विभेदका मैले देखेका केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। यस्ता घटना हामी सबैले देख्दै आएका छौं। तीन-चार महिना अगाडि (२०७१ असोजतिर) कुरा हो। कान्तिपुर यातायात चढेर लाजिम्पाटबाट गोंगबु आउँदै थिएँ। महाराजगंज नारायण गोपाल चोकनिर आइपुगेपछि अकस्मात सडकमा मागेर बस्ने मधेसी-भारतीय जस्ता देखिने दुई बच्चा गाडीको अगाडि आइपुगे। मैले ड्राइभरलाई सजग गराएँ। ड्राइभरले ‘साला भेलेका बच्चाहरू कुन दिन मर्छन्’ भने। म केही समयदेखि नेपालमा पहाडिया र मधेसी बीचको दुरीबारे सोचिरहेको थिएँ। मधेसमा नेपाली राष्ट्र र राष्ट्रियतासमेत विरूद्धमा उठेका असन्तोषबारे सोच्दै गरेको बेला यो ‘भेलेका बच्चाहरू’ शब्दले मानसिकरूपमा केही बेर रन्थनिन पुगेँ।
त्यस्तै करिब एक वर्ष अगाडि तिहारका बेलाको कुरा हो। म मेरो घर तनहुँबाट काठमाण्डौं आउने क्रममा मुग्लिनमा झरेर नवलपरासी माइतबाट त्यही दिनमा काठमाडौं आइरहेकी मेरी पत्नी र छोरालाई कुरेर बसिरहेको थिएँ। साथमा सानो छोरा भएकोले उनी र मैले मुग्लिनबाट सँगै जाने सल्लाह गरेका थियौँ, त्यसका लागि म मुग्लिन प्रहरीको ढाँट नजिकै बस्ने र उनीहरू चढेर आएको गाडीमै चढेर काठमाडौं आउने कुरा थियो। ढाँटनिर एक ट्राफिक प्रहरी ड्युटीमा रहेछन्। तिनको ‘नेमप्लेट’ हेरेर थाहा पाएँ, अँग्रजीमा तिनको नाम आर. दर्जी लेखिएको थियो। नेपालीमा भने पुरा नाम लेखिएको थियो जुन अहिले पनि मलाई याद छ तर यहाँ जानीजानी लेख्न चाहिनँ। म मुग्लिनमा ती प्रहरीसँग कुरा गरेर बसिरहेका बेला , एउटा भारतीय ग्याँस ट्याङकर आयो। त्यो लामो सायद चौध चक्के ट्याङकर (त्यसका चक्का मैले गनिनँ, यहाँ अनुमानको भरमा लेखेको हुँ ) बाट त्यो गाडीका सहचालक झरेनन्। त्यहाँ गाडीको नम्बर दर्ता गराउनु पर्ने रहेछ तर भारतीय नम्बर प्लेट भएको त्यो गाडीको सहचालकले गाडीभित्रैबाटै नम्बर भन्न खोजे।
ट्राफिक प्रहरीले सहचालकलाई तल झर्न भने। सहचालकले हिन्दीमा भारतीय ट्याङकरका सहचालकले त्यस्तो गर्नु नपर्ने जिकिर गरेपछि ती ट्राफिक प्रहरी जंगिए र अन्टसन्ट जानी नजानी, कनीकुथी हिन्दीमा सहचालकलाई गाली गर्न थाले। त्यसपछि सहचालक झरेर नम्बर दर्ता गराए तर रीसको पारो चढी सकेका ट्राफिक प्रहरीले ट्याङकरको साइडलाइट लगायत अरू चिजहरू ठीक छ कि छैन भनेर निहुँ खोज्न थाले। केही कमजोरी पत्ता लगाएपछि ट्राफिक प्रहरीले उक्त ट्याङकरलाई ‘साइड’ लगाएर रोक्न र नजिकैबाट मेकानिक बोलाएर बनाउन भने। त्यो ट्याङकर छेउ लगाएर रोक्न लगाएपछि उनले मलाई भने – “हेर्नुस् न यी फोरमहरू कति ठूला कुरा गर्छन्? थाहा छ तपाइँलाई, यिनीहरूले यिनीहरूको आन्दोलन (सायद मधेस आन्दोलन होला) को बेला कम्ता दुःख दिएका थिएनन् हामीलाई ? त्यतिखेर म भैरहवा थिएँ अहिले यहाँ आएर पनि ठूलो कुरा गर्छन् यिनीहरू।” यी ट्राफिक प्रहरीले भारतीय र ‘फोरम’ भनेर अपहेलना गरी बोलाइने गरिएका मधेसीहरूलाई एउटै नजरले हेर्दा रहेछन्। नेपाल राज्यको एउटा महत्वपूर्ण अंग प्रहरी प्रशासनका यी व्यक्ति पनि भारतीय र मधेसी नेपालीलाई एउटै नजरले हेर्दा रहेछन्। यो नेपाली पहाडिया समाजमा व्याप्त आम बुझाइ जस्तै हो भन्दा खासै फरक नपर्ला।
पाठकलाई थाहै होला दर्जी (परियार)हरू हाम्रो जातीय कुप्रथामा आफै पनि अत्यन्त विभेदबाट शताब्दीऔंदेखि प्रताडित समूह हो। दर्जी (दमाई) लगायत अरू कथित पानी नचल्ने जातलाई गरिने विभेदकारी व्यवहारका प्रावधान हिन्दू धर्मशास्त्रमा नहोलान् तर धर्मशास्त्रको अर्थ लगाउने पण्डाहरूले जातीयतालाई सामाजिक, कानुनी र राजनीतिक रूपमै मान्यता दिलाए। कतिपय अवस्थामा जातीय आधारमा गरिने कार्यविभाजन राज्यसञ्चालनको अभिन्न र मार्गनिर्देशक दर्शन जस्तो बन्न पुग्यो। माओवादी नेता मातृका यादवले नेपाली राज्यको पहाडे र नेपालीभाषी चरित्रको बारेमा भनेका छन् –“पहाडका सीमान्तकृत, पिछडिएका वर्गका आममानिसले पनि मधेसीलाई मानवीय तरिकाले हेर्दैनन्।”
उनले यसलाई नेपालको राष्ट्रनिर्माण प्रक्रियामा लिइएको मधेसी विरोधी र मधेसीलाई शंकाको भावनाले हेर्ने प्रवृत्तिले सामाजिक रूप ग्रहण गरेको रूपमा अथ्र्याएका थिए। उनको यो विचारसँग खासै विमति राख्नुपर्ने कारण देखिँदैन। त्यसैले भारतीय र मधेसीप्रतिको गलत सोचका लागि ती ट्राफिक प्रहरीलाई व्यक्तिगत रूपमा दोषी देख्न म चाहन्न।
समाजका नबुझेका, अशिक्षित र अर्धशिक्षित तप्कामा व्याप्त यो धारणा कतिपय शिक्षित, विद्वान र प्रबुद्ध भनिएका वर्गहरूमा पनि पाइन्छ। एकपटक त्रिभुवन विश्वविद्यालयका कुनै एक विभागका एक लब्ध प्रतिष्ठित प्राध्यापकले पनि मधेसीलाई “धोती” भनेको मैले सुनेको छु। नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका एक जिम्मेवार नेताले आफ्नो संगठन भित्रका मधेसीहरूप्रति इंगित गर्दै ‘फोरमहरू’ भनेको थाहा पाएँ। मेरो गाउँको विद्यालयहरूमा पढाउन आउने मधेसी शिक्षकहरूलाई ‘धोती मास्टर’ भनेर बोलाउने गरिनु सामान्य नै मानिन्छ।
सार्वजनिक यातायातहरूमा मधेसीहरूप्रति गरिने विभेद झन् प्रष्ट हुन्छ। गाडीका चालक सहचालकहरू प्रायः मधेसीहरूलाई (खासगरी गरीखाने वर्गकालाई) ‘भेले’वा ‘फोरम’भन्छन्। मधेसीहरूले गाडी रोक्न हात दिए भने “ऊ फोरमहरूले रोक्न खोजे , कहाँ जाने रैछ ,सोध त” भनेर प्रायः चालकहरूले सहचालकलाई अह्राउँछन्। प्रायः जसो खलासीहरू मधेसीहरूलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन्, ती मधेसीहरू उमेरले बढी नै भए पनि। ‘उता जाऊ न भैया’, ‘अलि उता सर न भैया’ भनेर अपमान गरेको देख्छु। हुन त नेपाली व्याकरणका किताबहरूमा तिमीलाई आदरार्थी शब्द भनिन्छ तर आफूभन्दा उमेर धेरै भएका व्यक्तिहरूलाई तिमी भन्नु अपमान हो। खासगरी गरिब र गरिखाने मधेसी र भारतीयहरू काठमाडौं लगायत पहाडमा यस्ता अपमानहरू पचाएर हिंड्ने गरेको देख्छु। आफूभन्दा ठूलो उमेरका लाग्ने पहाडियाहरूलाई भने खलासीहरूले ‘‘अलिक पछाडि सर्नुस् , एकतिरको मात्रै डन्डी समाएर उभिनुस् , खुट्टा उता सार्नुस्” जस्ता आदरभाव दर्शाउने शब्दहरू प्रयोग गर्छन्।
स–साना बच्चाहरूले पनि काठमाडौंमा तरकारी र फलफूल बेच्ने, कपाल काट्ने र बोतल र कागज संकलन गर्ने मधेसी र भारतीयहरूलाई ‘तिमी’ भन्छन्। ‘ए भैया एक किलो कागजको कति दिन्छौ ?’ जस्ता अनादर जनाउने भावले कुरा गर्छन्। कहिलेकाहीं ठूलाठूला व्यापार गरेर बस्ने मधेसीहरूलाई पनि पहाडिया ग्राहकहरूले यस्तै अपमानजनक व्यवहार गरेको देख्न पाइन्छ। ‘यस्तो किन गरेको’ भनेर सोधियो भने कहिलेकाहीँ ‘भारतमा पनि नेपालीहरूलाई यस्तै गर्छन्’ भन्ने बनिबनाउ जवाफ पाइन्छ।
भारतमा अपमानजनक व्यवहार भोगेर आएका कतिपय पहाडियाहरूले अब नेपालमा नेपाली मधेसी र भारतीयहरूमाथी बदला लिनुपर्छ भनेको पनि मैले सुनेको छु। यस्तो एकातिरको रीस अर्कोतिर पोख्ने ‘इमोसन डिस्प्लेसमेन्ट’का उदाहरणहरू पनि प्रशस्तै देखिन्छन्। नेपालमा ‘इमोसन डिस्प्लेसमेन्ट’का उदाहरणहरू अरू घटनाहरूमा पनि उजागर भैसकेका हुन्। ऋतिक रोशन काण्डमा मधेसी र भारतीय व्यापारी र समुदायमाथि असुरक्षित वातावरण श्रृजना भएको थियो। बाह्रजना नेपालीहरू इराकमा मारिएपछि भदौ १६ काण्डमा नेपाली मुस्लिम समुदायमाथि र तिनका धर्मस्थलमाथि त्यस्तै आक्रमणहरू भएका थिए। अर्काथरि मानिसहरू चाहिँ वहुमतबाट अल्पमतमाथि ‘हल्का’ थिचोमिचो गर्ने त जहाँ पनि हुन्छ र त्यसको बारेमा धेरै सोच्न हुँदैन भन्दै टकटकिन खोज्छन्। जे चलिआएको छ, चलिरहन्छ भन्ने उनीहरूको सोचाइ हुन्छ। सभ्य र शान्तिपूर्ण समाज निर्माणमा यस्ता सोचाइहरूले सहयोग गर्दैनन्।
तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले एउटा अन्तर्वातामा भनेका छन् – “मधेसी भनेको कुनै एउटै समूह होइन, विविधतायुक्त समूह हो तर यो समूह समग्रमा पहाडियाहरूबाट सामाजिक रूपमा तिरस्कृत र अपमानित समूह हो र यसैले उनीहरूलाई एक बनाउँछ।” माओवादी नेता मातृका यादवले पनि अन्तर्वातामा भनेका छन् –“पहाडे राज्यले मात्र होइन, पहाडिया समाजका एकदम ‘तल्लो’ तहमा राखिएका मानिसले पनि मधेसीलाई अपमानजनक व्यवहार गर्छन्।” सशस्त्र सर्घषमा होमिनु अगाडि स्वास्थ्य उपचारका सिलसिलामा जाँदा धरानमा उनी स्वयंले त्यस्तो भोगेको पनि उनले त्यो अन्तर्वार्तामा उल्लेख गरेका थिए। यसरी स–साना लाग्ने र दैनिक व्यवहारमा निरन्तर भैरहेका यस्ता घटनाहरूले मधेसीहरूलाई नेपाली भाषी समाज र त्यही मानसिकताबाट निर्देशित नेपाली राज्यका विरूद्ध एकजुट बन्न प्रेरित गरेको छ र मधेसवादी राजनीति गरिरहेकाहरूलाई निरन्तर मुद्दा मिलिरहेको छ।
व्यक्तिगत रूपमा मलाई राम्रो लाग्ने मेरा एक रौतहटका मधेसी साथी छन् ठाकुर थरका। दिल्लीमा साउथ एसियन युनिभर्सिटी पढ्दा चिनेको। व्यक्तिगत अन्तरक्रियाहरूमा उनी मलाई शालीन लाग्छन् र हामीसँग जस्तै विमति भएपनि सरल तरिकाले सम्मानपूर्वक आफ्ना तर्कहरू राख्छन्। उनी अहिले आफूलाई स्वतन्त्र मधेसको पक्षपाति भन्ने सिके राउतको समूहका सक्रिय सदस्य छन्। हाम्रा विचार विमर्शहरूमा उनले उनी स्वयंले व्यक्तिगत रूपमा भोगेका विभेदका प्रसंगहरू र मधेसीहरूले खप्नुपरेको ताडनाबारे फेहरिस्त लगाउन पछि पर्दैनन्। एक्काईंसौं शताब्दीमा पनि यस्तो आफैलाई हराउने र दुःख दिइरहेका संरचनाहरूको किन हिस्सा बनिरहने भन्ने उनी तर्कना गर्छन्। राजनीतिक महत्वाकांक्षाका कारण उनले भन्ने सबै कुराहरू मलाई ठीक नलागे पनि उनी पूरै गलत हुन् भनेर भन्न म सक्तिन। मधेसीहरूलाई (अरू सीमान्तकृत र पिछडिएका वर्गहरूलाई पनि) सामाजिक र राजनीतिक रूपमा सम्मान गर्न सकिएन भने यस्ता पात्र र प्रवृत्ति जन्मिरहने छन्।
मधेसीलाई पहिचानको मामलामा केही बुझाइहरू छन्। मधेसीलाई नेपालीका रूपमा नबुझ्ने र मधेसी स्वंयले पनि नेपाली र मधेसी फरक फरक हुन् भनी बुझ्ने गरेको उनीहरूले प्रयोग गर्ने भाषाहरूलाई सुक्ष्म अध्ययन गर्ने हो भने थाहा पाउन सकिन्छ। गोंगबुमा म डेरा गरेर बस्दा मधेस आन्दोलनताका एकजना सर्लाहीका कपाल काट्ने मधेसी भाइ भन्थे– “हेर्नुस् , नेपाली र मधेसी त भाइभाइ जस्तै हो र मिलेर बस्नुपर्छ।” यी सर्वसाधारण मधेसी नेपाली नागरिकले मधेसी र नेपाली पहिचान फरक रूपमा बुझेका रहेछन्। मेरो हालै सम्पन्न वीरगंज भ्रमणका बेला एकजना पहाडियामुलका तराइबासीले भने –“यो ललका पुलभन्दा तल (दक्षिणतिर) मधेसीहरू धेरै छन् र पुलभन्दा माथि (उत्तरतर्फ) हामी नेपालीहरू बढी छौं। यसरी यी सामान्य बोलीहरूमा पनि नेपाली र मधेसीलाई फरक फरक रूपमा बुझेका रहेछन् भन्ने देखिन्छ।
अवको हाम्रो आवश्यकता भनेको मधेसी पनि नेपाली हुन् भन्ने फराकिलो आमबुझाइ श्रृजना गर्नु हो। संविधान र कानुनले समानताको प्रत्याभुति गर्लान् तर सामाजिक र व्यवहारिकरूपमा पनि त्यो बुझाइ विकसित हुन जरूरी छ। प्रख्यात भारतीय राजनीतिक मनोविज्ञ र विद्धान आशिष नन्दीले भने झैं “मानिसको मस्तिष्कबाट सुरू भएको कुनै प्रथा वा व्यवहार मानिसकै मस्तिष्कबाटै नहटेसम्म व्यवहारिकरूपमा अन्त्य हुन सक्दैन”। मधेसीप्रति गरिने व्यवहारको सन्दर्भमा पनि संविधान र कानुनी रूपमा जेसुकै लेखिए पनि आममानिसको मस्तिष्कबाट पूर्वाग्रहपूर्ण सोचाइ नहटेसम्म व्यवहार पुरै बदलिन सक्दैन, जुन असम्भव त होइन तर सजिलो पक्कै छैन।
सामाजिक विभेद, संरचनागत हिंसा र प्रतिहिंसा
योहान ग्याल्टुङ नामका एक शान्ति र द्घन्दका विश्वविख्यात विद्घानले भनेका छन् – ‘मानिसहरूलाई उनीहरूको क्षमता प्रर्दशन गर्न नदिनु ,तिनीहरूलाई स्वतन्त्रतापूर्वक हिंडडुल गर्न र व्यक्तिगत इच्छा आकांक्षाहरू पूरा हुन नदिन खडा गरिएका वा भएका भौतिक, सामाजिक, कानुनी, मनोवैज्ञानिक र राजनैतिक संरचनाहरूले पनि हिंसा गरिरहेका हुन्छन्।’ हिंसा भनेको प्रत्यक्ष शारीरिक हिंसामात्र बुझ्ने बुझाइ अब साघुँरो बुझाइ हुन पुगेको छ। माथि उल्लिखित संरचनागत हिंसाहरूले पनि समाजमा असन्तुष्टि, आवेग, पीडा, छटपटी, विद्रोह, दमन र अहमहरू पैदा गरिरहेकै हुन्छन्। हिंसाले कुनै न कुनै बेला, कुनै न कुनै रूपमा प्रतिहिंसा त जन्माइहाल्छ नि ! त्यस्तो प्रतिहिंसा व्यक्तिगत, सामाजिक र राजनीतिक जुनसुकै रूपमा अभिव्यक्त हुनसक्छ।
समाज जति शिक्षित र सभ्य हुँदै जान्छ, समाजले यस्ता स–साना लाग्ने तर गहिरा र अर्थपूर्ण कुराहरूमा विचार पुर्याउन थाल्छ। मानिसहरूबीचमा घोषित-अघोषित, जानी-नजानी , चाहेर-नचाहेर विभिन्न रूपमा विभेद गर्ने समाज र राष्ट्र कहिले पनि शान्त रहन सक्दैन, भलै मुर्दाशान्ति केही समय किन कायम नहोस्। तानाशाही शासन व्यवस्थामा सञ्चार माध्यमहरूको विकास राम्रोसँग नहुँदा, राज्यसत्तासँग मात्रै सञ्चारका माध्यमहरू हुँदा मानिसहर्रूको ‘विचारनिर्माण’ प्रक्रियामा नै हस्तक्षेप गरेर र डर त्रास देखाएर नियोजित सामाजिक र राजनीतिक इन्जिनियरिङ गर्न सम्भव थियो होला, पञ्चायतकालमा जस्तै। अब त्यस्तो उत्तर कोरिया, भुटान लगायत केही देशहरूमा सम्भव होला। जनचेतनाका कारण र सञ्चारका माध्यमहरूको व्यापक विकासका कारण नेपाल लगायत अधिकांश विश्वका देशहरूमा यो सम्भव छैन। तर हाम्रो समाज र राजनीतिमा पुरानो सोचाइका अबशेषहरू बलियैसँग डेराडन्डा जमाएर बसेका छन् र त्यस्ता सोचाइहरू हाम्रा मस्तिष्कबाट हटिसकेका छैनन्।
आशिष नन्दीले उत्तर–औपनिवेशिक भारतीय राज्य र सामाजिक संरचना पनि औपनिवेशिक पाराकै जस्तो रहेको सन्दर्भमा भनेका छन् – “औपनिवेशिकता मानिसहरूको मस्तिकमा छाप बनाएर सुरू भएकोले, मानिसको मस्तिकबाट हटेमात्रै यो सामाजिक रूपमा हट्न सम्भव छ , तर त्यसो भएको छैन, त्यसैकारणले आज पनि भारतीय राजनीति र समाजको औपनिवेशिक चरित्र अझै कायम छ।” त्यसैगरी जातीय कुप्रथा, मधेसीहरूप्रतिको विभेद र अन्य कुरीतिहरू कानुनी रूपमा उन्मुलन भएका होलान्, तर मानिसहरूको मस्तिष्कमा बलियो छाप जमाएर बसेको छन्। त्यसैले त जातीय, क्षेत्रीय, लैङ्गिक र अन्य आधारमा उत्पीडन भैरहेकै छन्।
मनोविज्ञहरूका अनुसार पीडा, विभेद भोग्नेलाई त यस्ता विभेदहरूले ठूलै मनोवैज्ञानिक र कतिपय अवस्थामा त शारीरिक पनि क्षति पुर्याइरहेका हुन्छन्। यो अप्रत्यक्ष हिंसा नै हो। प्रायः मनोविज्ञहरू के कुरामा पनि सहमत देखिन्छन् भने विभेद पीडितहरू मात्रै होइन कि पीडकहरू स्वयंलाई पनि यस्ता विभेदजन्य व्यवहारले निकै मनोवैज्ञानिक क्षति पुर्याइरहेको हुन्छ। पीडकहरू जात, वर्ण, लिङ्ग, या अरू कुनै आधारमा आफूलाई अरूभन्दा श्रेष्ठ ठानेर अरू ‘तल्ला’ तहका मानिसलाई विभेद गर्न र पीडा दिन उद्यत हुन्छन् र त्यसलाई जायज ठान्छन्। त्यस्ता क्रियाकलापबाट ग्लानिवोध गर्दैनन्, त्यस्तो ग्लानिवोध गर्ने मनोवैज्ञानिक प्रक्रिया (सिस्टम) तिनीहरूमा विकसित नै भएको हुँदैन। यसरी आफूभित्रको अमानवीयतालाई बढावा दिँदै लैजान्छन् र आफूलाई एक अमानवीय र लङ्गडो व्यक्तित्व बनाउन पुग्छन्। यसर्थ विभेदको यो दुइधारे पत्तिले स्वयं विभेदकारीहरूलाई पनि काटिरहेको हुन्छ, कतिपय अवस्थामा उनीहरूले पनि थाहा नपाउने गरी। यसरी विभेदकारी र पीडादायी सामाजिक र मनोवैज्ञानिक संरचनाहरू खडा हुन्छन् जसले विभेद पीडित र विभेदकारी स्वयंलाई क्षति पुर्याइरहेको हुन्छ। पीडक र पीडितहरूमा ध्रूवीकृत समाज कसरी शान्तिपूर्ण रहन सक्छ र ?
नागरिकताको सन्दर्भ र जटिलता
नेपाल र भारतबीचको खुला सीमा र सन् १९५० को सन्धीमा रहेको नेपाल र भारतका नागरिकलाई दुवै देशमा ‘नागरिक’सरहको व्यवहार गर्ने र अधिकार दिने प्रावधानले गर्दा कतिपय नेपालीले भारतमा गएर भारतीय नागरिकता लिएर बसेका होलान् र भारतीयहरूले नेपालमा आएर नागरिकता लिएका होलान्। नेपाल र भारत दुबै देशका संविधानमा निश्चित समय मुलुकमा रहनेलाई प्रक्रिया पुर्याएर नागरिकता दिने प्रावधानहरू छन्। यसैको आधारमा कैयौं नेपालीहरूले भारतीय नागरिकता र भारतीयहरूले नेपाली नागरिकता लिएका होलान्। यही प्रावधानको दुरूपयोग गरेर धेरै नेपाली र भारतीयहरूले एकअर्को देशको नागरिकता लिएका छन्। यी समस्या सल्ट्याउन विशेष उपायहरू सृजना गर्न र अपनाउन सकिएलान्-सक्नुपर्छ। यस्ता सामाजिक र कानुनी छिद्रहरू भने टाल्ने कोसिस हुनैपर्छ।
नेपालीहरू पनि भारतको कुनाकुनामा गएर बसोबास गरेका छन् र रासनकार्ड र मतदाता परिचयपत्र लिएका छन्। भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखिनै दार्जिलिङ, सिक्कीम र महाकाली पश्चिममा रहेका नेपाली भाषीबाहेक पनि कतिपय नेपालीहरू भारत गएर घरजम र बन्दोबस्ती गरेर बसेका छन्। एउटा राष्ट्रिय दैनिकमा भर्खरै प्रकाशित समाचार अनुसार भारतमा रहेको नेपालीहरूको एक प्रवासी संगठनका कतिपय पदाधिकारी र सदस्यहरूले रासनकार्ड लिइसकेका रहेछन्। म दिल्लीमा पढ्न बस्दा दिल्लीमै पसल गरेर बसिरहेका एक राजस्थानका गुप्ताले भनेका थिए–“तुम भी रासनकार्ड चाहो तो बनासक्ते हो, आसान है” (तिमीपनि चाहान्छौ भने रासनकार्ड बनाउन सक्छौ, सजिलो छ ) मेरो गाऊँ केशवटार (तनहुँ)बाट भारतमा गएर लामो समय उतै बसेका मध्ये केहीले उतै घर बनाएर बसेको, रासनकार्ड लिएको मलाई थाहा छ। यसैगरी कैयौं भारतीयहरूले मधेसमा आएर नेपाली नागरिकता लिएका छन्। दुबै देशका नागरिक भएको आधिकारिक परिचयपत्र भएकाहरूको संख्या पनि धेरै नै छ, यसलाई नर्कान मिल्दैन। मानिसहरू व्यक्तिगत रूपमा के गर्दा सजिलो हुन्छ, त्यसै गर्छन्।
करिब १० बर्ष अगाडि जति हुनुपर्छ, म गोंगबुमा बस्दा काठमाडौंमा कुनै एउटा पाउरोटी कारखानामा काम गर्ने भारतीय मुस्लिमले मलाई रौतहटबाट नागरिकता बनाएको सुनाएका थिए। रौतहटमा उनका ससुराले छोरा भनेर नागरिकता बनाइदिएको उनले खुसीसाथ सुनाएका थिए। दार्जिलिङ, सिक्कीम, आसाम र भुटानबाट आएका कतिपय नेपालीभाषी भारतीय र भुटानीहरूले नेपाली नागरिकता बनाएका छन्। नेपालका निजी विद्यालयहरूमा पढाउँदा मेरा कतिपय त्यस्ता साथीहरू थिए। २०७१ सालको मंसिरमा एउटा अध्ययन भ्रमणको लागि वीरगंज जाँदा बारा जिल्ला पनि जाने अवसर जुरेको थियो। बाराको एउटा गाऊँमा पहाडीमूलका कुनै एक व्यक्तिले भनेका थिए – “एउटा हाँगा (व्यक्ति वा परिवार) यता (नेपालतिर) छ भने उताबाट (भारतबाट) पातहरू (व्यक्तिहरू) आएर नागरिकता त लिइहाल्छन् नि।” यो भनाइ नेपालबाट भारतमा गई त्यहींको नागरिक बन्नेहरूको हकमा पनि लागु हुन्छ।
नेपाली शासकवर्ग यस्तो परिस्थिति उत्पन्न हुनसक्नेप्रति पञ्चायतकालदेखि नै त्रस्त थिए। नेपालीहरू भारतमा जाँदा सागरमा एउटा सानो नदी मिसिएको जस्तो खासै फरक नपर्ने तर भारतीयमुलका भनिएका मानिसहरूले धमाधम नेपाली नागरिकता लिइदिए भने कतै नेपालको सामाजिक र राजनीतिक सन्तुलन अनि नेपालको ‘राष्ट्रिय चरित्र’ खल्बलिने त होइन भन्ने डर उनीहरूमा थियो। त्यहीमाथि ‘बर्मा (हाल म्यानमार) र नेपाल’ लगायत देशहरूमा भारतीय मूलका भनिएका मानिसहरूमाथि विभेद, अन्याय र अत्याचार भएको भएको आवाज भारतीय संसदमा र पत्रपत्रिकामा उठ्न थालेपछि खासगरी पञ्चायतकालमा ‘एउटै भाषा एउटै भेष, एउटा राजा एउटै देश’मा विश्वास गर्ने पञ्चायती शासकहरू झस्कन पुगेका थिए र त्यसलाई त्यसबेलाको समय र परिस्थिति अनुसार स्वभाविक पनि मान्न सकिएला। राज्यका रूपमा नेपालले बरू भारतसँग सन् १९५० सन्धी पुनरावलोकन गर्ने, नागरिकता वितरणमा सावधानी अपनाउने गर्न सक्छ। यी कुराहरू लागू गर्न सजिलो छैन र नेपाली शासकले त्यो आँट गर्न सक्लान् जस्तो पनि देखिँदैन। यही विषयले पनि नेपालमा मधेस मुद्दालाई थप जटिल बनाइदिएको छ।
मधेस जागरण र परिणाम
अहिले मधेसमा एक किसिमको जागरण पैदा भएको छ। दोस्रो जनआन्दोलन पछि देशै जागेको बेला मधेसीहरू नजागिरहन के सक्थे र ? २०६३ को मधेस आन्दोलनपछि मधेसीहरू पहाडे मानसिकता बोकेको नेपाली राज्यले आफूहरूमाथि सदियौंदेखि गर्दै आएको विभेद र थिचोमिचोप्रति सचेत र सजग भएका छन्। त्यस मधेस आन्दोलनपछि सायद माओवादी सशस्त्र संघर्षको ‘आंशिक सफलता’बाट प्रेरित भएर होला मधेसमा कैयौँ सशस्त्र समूह जन्मिए, “मधेसको अधिकारको लागि भन्दै, मधेसको स्वतन्त्रताको लागि भन्दै, मधेसमा नेपालको कथित औपनिवेशिक शासनको अन्त्यको लागि भन्दै।” मधेसका सशस्त्र समूहहरू अहिलेलाई धेरै नै निस्तेज भए पनि मधेसको हकहितका लागि लड्न भनेर , झण्डै दर्जनको संख्यामा मधेसवादी क्षेत्रीय दलहरू खुलेका छन्। नेपाल सद्भावना पार्टी त पहिले देखि नै थियो। मधेस आन्दोलनको परिणामस्वरूप उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम जन्म्यो। मधेस जागेको बेला मधेसको मुद्दालाई ‘क्यास’ गर्न तराई मधेस लोकतान्त्रिक पार्टी लगायत धेरै दलहरू खुले। राष्ट्रिय राजनीतिमा मूलधारको राजनीति गरेका दलहरूबाट महन्थ ठाकुर, विजयकुमार गच्छदार , शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरू मधेसको क्षेत्रीय राजनीतिमा हामफाल्न वाध्य भए। मधेस आन्दोलनको राप र तापले नेपाल संबैधानिक रूपमा पनि संघीयतामा जान बाध्य भयो। रामवरण यादव र परमानन्द झा जस्ता मधेसीमूलका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपति बन्न पुगे।
सिङ्गो मधेसमा एक प्रदेश हुनुपर्ने असाध्यै असान्दर्भिक माग पनि उठ्न पुग्यो। यो माग किन असान्दर्भिक देखिन्छ भने एउटै भाषा र एउटै भेष लागु गरिएकोमा नेपालको राष्ट्रनिर्माण प्रक्रिया विभेदकारी थियो भन्नेहरूले बहुभाषी र बहुसांस्कृतिक मधेसमा सम्पर्क भाषाको रूपमा हिन्दी राख्न चाहे। राजेन्द्र महतोले त राष्ट्रिय जनगणनाको बेला आफ्नो मातृभाषा हिन्दी लेखाउन मधेसीहरूलाई उर्दी नै जारी गरे। मधेस भित्रैका जातीय, लिङ्गीय, लगायतका विभेदहरूमा आँखा चिम्लिएर लगातार नेपाली राज्यले मधेस र मधेसीप्रति गरेको विभेदका विरूद्ध चर्का नाराहरू लगाइरहे र करिब ८०० कि. मि. लम्बाइ र २२-२५ कि. मि. जति चौडाइ भएको विचित्रको भुगोलमा एउटै मधेस प्रदेशमात्र माग गरे। हुन त अधिकांश क्षेत्रीय दलका नेताहरू मधेसमा उच्चवर्गीय घरानाका व्यक्तिहरू र अवसरवादी राजनीतिका पर्याय बनेकाहरू छन् : तर मधेसीहरूले खप्नुपरेको सामाजिक विभेदले र यसले राज्यका अन्य अंगहरूमा पनि पारेको प्रभावका कारणले गर्दा मधेसवादी राजनीति गर्नेहरूलाई मुद्दाहरू मिलिरहेका छन् र मिलिरहने छन्।
मधेस आन्दोलित हुँदा त्यहाँ पनि बदलाभावले पहाडीयाहरूप्रति अलि बढी नै दुव्र्यवहार र असुरक्षाको स्थिति पनि उत्पन्न भएको रहेछ। मानिसहरूको व्यवहारमा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्न पनि सकिंदैन। मानिसहरू आन्दोलित हुँदा भीडको मानसिकताले काम गर्दा प्रतिक्रियाहरू क्रियाहरू भन्दा कठोर हुनसक्छन्। वीरगंजमा मधेस आन्दोलनका बेला कुनै पहाडियाको शिरको टोपी भुईंमा फालेर मधेसी आन्दोलनकर्ताहरूले कुल्चिदिए छन् । पहाडियाहरू मधेस बहुल क्षेत्रहरूबाट आफ्ना घर जग्गा र अन्य जायजेथा धेरै कम मूल्यमा बेचेर उत्तरतर्फ पहाडीयाहरू बहुमत रहेको सिमरा, पथलैया, अमलेखगंज, हेटौँडातिर बसाईं सर्न बाध्य भएछन्।
त्यहाँ काम गर्ने पहाडीया सरकारी र निजि संस्थाका कर्मचारीहरूलाई नामै किटेर मधेस छोड्न धम्की दिइएछ। मधेसी बहुल क्षेत्रबाट केही पहाडीयाहरू रातारात धपाइएर जंगलको बाटो हुँदै पहाडीया बहुल क्षेत्रमा पुगेर ज्यान जोगाउन सफल भएछन्। त्यति हुँदा पनि त्यहीँ भित्रका केही मधेसीहरूले कैयौँ पहाडियाहरूलाई घरमा लुकाएर संरक्षण र सुरक्षा दिएछन्। पहाडीमूलका सञ्चारकर्मीहरूलाई विभिन्न चेतावनी दिइएछ र आफूले चाहेको समाचारहरू सम्प्रेषण गर्न बाध्य पारिएछ। (अहिले भने मधेस आन्दोलनका बेला परल मूल्यभन्दा आधा कम रकममा घर जग्गा बेचेर हिँडेकाहरू पmर्किएमा त्यतिनै मूल्यमा फिर्ता दिन मधेसी क्रेताहरू तयार भएको कुरा पनि सुन्न पाइयो। पुरानो सद्भाव फर्किंदै रहेछ ) मधेसी राजनीतिक दलका नेताहरूले दिने गरेका मन्तव्यहरूमा पनि बदलाभाब अलिक बढीनै रहेको प्रतित भयो। महन्थ ठाकुरले मधेसले अव क्षतिपूर्तिको साँवा मात्र होइन ब्याज पनि माग्छ भनेर धम्क्याए, हृदयेश त्रिपाठीले राज्यपुर्नसंरचना गर्दा चितवन जिल्ला मधेसमा नपारिए मधेसले खोसेर पनि लिने बताए, मधेसवादी राजनीतिमा धेरै पछि हाम फालेका शरदसिंह भण्डारीले सायद रक्षामन्त्री नै हुँदाहोला, भविश्यमा तराइका २२ जिल्ला नेपालमै नरहनसक्ने चेतावनी दिए। हिंसा र प्रतिहिंसाको (हिंसाको फराकिलो परिभाषा अनुसार) यो श्रृंखला अहिलेलाई भने केही मथ्थर भएको छ।
सिक्नुपर्ने पाठ
देशहरू बन्ने र टुक्रिने क्रम अहिले पनि चलिरहेकै छन्। क्रिमियामा ‘प्रायोजित’ नै भनिएको भए पनि जनमतसंग्रहबाट क्रिमिया युक्रेनबाट टुक्रिएर रसियामा बिलय भएको घोषणा भयो। युगोस्लाभिया, चेकोस्लोभाकिया, सोभियत संघजस्तो शक्तिशाली राष्ट्र, सुडान, इन्डोनेसिया जस्ता राष्ट्रहरू टुक्रिएका धेरै भएको छैन। राजनीतिशास्त्रका बेत्ताहरूले राष्ट्रहरूको संख्या अझै बढ्ने भविश्यवाणी गरेका छन्। विश्वका देशहरूमा चलेका पहिचान केन्द्रित आन्तरिक द्धन्दहरूका कारण मुलुकहरू टुक्रिएका उदाहरणहरू छन्।
राष्ट्रियतालाई साँघुरो रूपमा परिभाषित गर्दा विभेदमा पारिएकाहरू असन्तुष्ट हुँदै जान्छन् र दीर्घकालमा वैकल्पिकबाटो खोज्नसक्छन्। राजनीतिशास्त्रका प्रख्यात विद्घान स्यामुअल हन्टिङटनले अब भविश्यका द्घन्दहरू सांस्कृतिक द्घन्दहरू हुने भविश्यवाणी गरेका छन्। उनले भविश्यवाणी गरे अनुरूप ठूलठूला संस्कृतिहरूका बीच द्धन्द हुने छाँट अहिलेलाई नदेखिएको भए पनि, उनले भनेझैं संसारमा साक्षरता बढ्दै जाँदा, यातायातका र सञ्चारका साधनहरूको द्रूतदर विकास हुँदै जाँदा अनौठोरूपमा पहिचानको आधारमा द्घन्दहरू बढ्दै गैरहेका छन्। नेपालमा भने विश्वराजनीतिमा पराजित घोषणा गरिएको कम्युनिज्म र विश्वराजनीतिमा चर्किर्द गएको पहिचानको मुद्दा अनौठो रूपमा फ्युजन हुन पुग्यो माओवादी सशस्त्र युद्धका रूपमा र त्यसपछि पनि। यसले शताब्दीऔंदेखि सीमान्तकृत समुदायलाई सशक्तिकरण त गर्यो, तर उनीहरूमा श्रृजित भएका असिमित आकांक्षाहरूको व्यवहारिक समाधान पत्ता लगाउने आर्थिक, राजनीतिक र वैचारिक सामथ्र्य हामीसँग नभएजस्तो देखिन्छ। विश्वव्यापीकरणको कारण पनि राष्ट्रहरू कमजोर बन्दै गैरहेका छन्। सानो र कमजोर अनि दुइटा शक्तिशाली राष्ट्रहरूका बीचमा हुँदा चर्चित नेपालविज्ञ अमेरिकी अध्येता लिओ रोजले भने झैँ राष्ट्रको रूपमा हाम्रालागि सँधै चुनौतीहरू थिए र अहिले पनि चुनौतीहरू थपिँदै र जटिल बन्दै गैरहेका छन् । अहिले आन्तरिक रूपमा पनि हामी बिथोलिएको अवस्था छ। मधेसको मुद्दालाई सम्मानजनक रूपमा समाधान गर्न पहल नगर्ने हो भने भोलि नेपाली राष्ट्रियतालाई अरू अरू पहिचान समुहहरूले पनि चुनौती दिन सक्छन्। मधेस र मधेसीलाई नेपाल राष्ट्रले अहिलेसम्म निरन्तर मर्कामा पारेको थियो होला, अब गम्भीर भएर ज्ञानमा आधारित प्रभावकारी र व्यवहारिक समाधान नखोज्ने हो भने मधेसले नेपाललाई मर्कामा पार्न सक्छ। त्यसका केही लक्षणहरू देखिइसकेका छन्, सचेत हुनु जरूरी छ।
अन्त्यमा,
काठमाडौले मधेसप्रति गरेको जस्तो व्यवहार सुदूरपश्चिमसँग, कर्णालीसँग, हिमाली क्षेत्रसँग, चेपाङहरूसँग, दलितहरूसँग र अरू सीमान्तकृत समुदाय र वस्तीहरूसँग पनि गरेको छ। धेरैले सराप्ने गरेका अनगिन्ती पहाडीया बाहुन पुरूषहरूपनि काठमाडौँको विभेदकारी व्यवहारबाट एक वा अर्को रूपमा मर्कामा परेका छन् । गणतन्त्रसहितको पूर्ण लोकतन्त्र आएपछि पनि यसतर्फ काठमाडौँले सजिलै र धेरै ध्यान दिएको पाइँदैन। काठमाडौँले यो कुरा बेलैमा बुझ्न जरूरी छ नत्र मर्कामा पर्ने पालो काठमाडौंको हुन सक्ने छ।
–लेखक त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति कार्यक्रम अन्तर्गत प्राध्यापनरत छन्।