अधिकार माग्दा विखण्डनकारी र नागरिकता माग्दा भारतीय भनिन्थ्यो : रोशनकुमार झा

गए राति मैले एउटा सपना देखे । घरको भित्तामा झन्ड्याईएको क्यालेण्डर, आन्दोलनको हुरीबाट क्षत विक्षत भएको छ । क्यालेन्डरमा २०७२ साल असोज १५ को मिति खोज्दा २०८२ साल असोज १५ को मिति भेटिन्छ । म अल्मलिन्छु । निष्पट्ट अन्ध्यारो । त्यतिकैमा थाहा हुन्छ, हाम्रो देश टुक्रि सकेको छ । चुरे वारी र पारी दुई फरक–फरक राष्ट्रको निमार्ण भई सकेको छ । म हातमा कलम लिएर मेरो भूतपूर्व देशको प्रधानमन्त्रीलाई पत्र लेख्दैछु ।

नेपालको प्रधानमन्त्रीलाई खुल्ला पत्र

मिति : २०८२, असोज १५

संसारकै गरीब राष्ट्रका प्रधानमन्त्रीज्यू म अलमलमा छु, तपाईंलाई जय नेपाल भनेर अभिवादन गरुँ की जय मधेश भनेर । हामी अलग भएको १० वर्ष पुगेको अवसरमा तपाईलाई यो पत्र लेख्दै छु । विश्वास गर्नुस् यो दश वर्षमा कुनै पनि दिन यस्तो थिएन, जुन दिन तपाईंको राष्ट्र अर्थात मेरो पुरानो देशलाई सम्झेको छैन । आज फेरी ती पुराना दिनहरु सम्झेर म ‘नोस्टाल्जिक’ बनेको छु ।

हामीलाई अलग पार्न तत्कालिन संसारकै सबैभन्दा गरीब प्रधानमन्त्री सुशील कोईरालाले देखाएको अकर्मण्यता वा अनिर्णयतालाई सम्मान गरुँ कि धिक्कार गरुँ । आजसम्म निर्णय गर्न सकेको छैन । तर जे भए पनि अब हामी दुई फरक राष्ट्रमा छौं । प्रधानमन्त्रीज्यू, म सम्झिन्छु ती दिनहरु, जति बेला हामीसंगै थियौं, तपाईको राष्ट्रको राजधानीलगायत मुख्य शहरहरुमा हामीलाई कति हेपिन्थ्यो । हामी नेपाली हुनु कहाँ हो कहाँ मानव नै थिएनौ । धोती, मधिशे, मस्र्या, भेलेजस्ता शब्दहरु हाम्रो सम्बोधनको लागि छुट्याएर राखिन्थ्यो । हामी नेपाली बन्न जति प्रयास गरे पनि हामीलाई बिहारी बनाईन्थ्यो । मलाई अझै याद छ, हामीले अधिकार माग्दा हामीलाई विखण्डनकारी भनिन्थ्यो । नागरिकता माग्दा भारतीय भनिन्थ्यो । एउटै माग पूरा गराउन तीन तीन पटक आन्दोलन गर्नु पर्यो। १००,१०० जनाको शहादत दिनु पर्यो । आन्दोलन, शहादत, नाकाबन्दी जे गर्दा पनि नमान्ने भएपछि अन्तमा हामी बाध्य भएर अलग हुन पुग्यौं ।

प्रधानमन्त्रीज्यू, हामीले कहिल्यै नदेखेको हिमाललाई हाम्रो शीर मानेकै थियौं । हाम्रो आँखाले प्रत्यक्षतः नदेखे पनि डाँफे हाम्रो राष्ट्रिय चरा थियो नै । लाली गुराँसको सुवास थाहा नभए पनि लालीगुँरासको कविता लेखेकै थियौं, गीत गाएकै थियौं । तै पनि हामीमा नेपालीपन देखिएन । नेपाली देखिन तत्कालीन राष्ट्रपतिले सधैं भरि ढाका टोपी धारण गरेपनि अन्ततः उनी पनि बिहारी नै बनाईए । हामीले मागेकै के थियौं र ? समान अधिकार, समान प्रतिनिधित्व, पहिचान र आत्मसम्मान । कुनै देशको नागरिक हुनलाई यी अधिकारहरु अनिवार्य होईन र ! सहमति गरि सकिएको एक मधेश प्रदेशबाट हामी दुईमा झरेपनि एक ईन्च जग्गा दिन्नौ भन्ने तपाईकै राष्ट्रका पूर्वप्रधानमन्त्रीहरुले बोल्दा हामीलाई कति बिझ्यो, त्यो कुराको अनुभव सायद अब तपाईहरु पनि गर्दै हुनुहुन्छ होला । जे होस, जे हुनु थियो भइ हाल्यो । अब त्यति बेलाका यी यावत कुराहरु कोट्याएर कुनै फाईदा छैन । बरु फुर्सत भए आफ्नो देशको बारेमा लेख्नु होला ।

अँ साँच्चै, डा. गोबिन्द केसीको माग पुरा भयो की भएन ? हामी सँगै हुँदा उहाँ सात पटक अनसन बसि सक्नु भएको थियो । विचराको माग पुरा भएको छैन भने अहिलेसम्म त उहाँ २०÷२२ पटक भन्दा अनसन बसि सक्नु भएको होला । नन्द प्रसाद अधिकारीको लास अहिले पनि वीर अस्पतालमै छन् की उनको सदगत भयो । गंगामायाको प्राण पखेरु बाँकी नै छ की उहाँको लास पनि कतै अलपत्र परेको छ ? तपाईको देशका दोषीलाई कारवाही गर्नु भन्दा पनि ‘प्रमोशन’ गर्ने चलन छ, त्यो कुरा विचरा ती मुर्खहरुलाई कहिले पनि चेतना भएन । कुबेरसिंह राणाजस्ताहरु प्रहरी संगठनका प्रमुख हुनु तपाईको देशको लागि कुनै नौलो कुरा थियो र ? मेलम्चीको पानी काठमाडौं आयो की, अहिले पनि काठमाडौं २० लिटर पानीमा दिन काट्न बाध्य छ ? लोडसेडिङ्गको अवस्था कस्तो छ ? भुकम्पले क्षतविक्षत भएको १२ वटा जिल्लामा पुनर्निर्माणको काम भयो की मन्त्रीहरु अहिले पनि त्रिपाल चोरीमै लिप्त छन् ? जाजरकोट तीर अहिले पनि झाडापखालाको महामारी फैलिन्छ की अवस्था नियन्त्रणमा आई सक्यो ? कोटेश्वर–कलंकी सडक खण्ड त निर्माण भई प्रयोगमा आई सक्यो होला, हगी ? माफ गर्नु होला, मैले धेरै प्रश्नहरु गरेँ । मेरा प्रश्नहरुबाट तपाईको चित्त दुखेको भए म हृदय देखि नै माफी माग्न चाहन्छु ।

प्रधानमन्त्रीज्यू, हामीले यो १० वर्षमा आफ्नो देशको संविधान बनायौं । हाम्रो संविधानले हाम्रो देशमा बस्ने कुनै पनि व्यक्तिलाई थर, जात, छालाको रंग वा पोशाकको आधारमा विभेद गरेको छैन । हाम्रो देशमा बस्ने ३५ प्रतिशत पहाडी मूलका व्यक्तिको लागि ३५ प्रतिशत नै आरक्षणको व्यवस्था गरिएको छ । उनीहरुले मागेकै अनुसार संघीयताको व्यवस्था हाम्रो संविधानले गरेको छ । तपाईको देशका पहाडी मुूलका व्यक्तिहरुसँग हाम्रो देशका पहाडी मूलका व्यक्तिहरुको बाक्लै बिहेबारी चले पनि हामीले कसैलाई देशको कुनै पनि मुख्य पदमा जानै नपाउने व्यवस्था गरेका छैनौं । उनीहरुलाई पहाडिया, टोपी, भुच्चड, बहादुर भनेर हाम्रो देशको कुनै पनि ठाउँमा कसैलाई गिज्याईँदैन । यो कानुनी र व्यवहारिक दुवै रुपमा निषेध छ । प्रधानमन्त्रीज्यू, हामीले भर्खरै सबै भाषाहरुको समुचित र समानान्तर विकासको लागि एउटा भाषिक आयोगको स्थापना गरेका छौं । हाम्रो देशमा मैथिली, भोजपुरी, अबधी, थारु र नेपाली भाषा राष्ट्रिय भाषा हुन । यी सबै भाषामा कुनै पनि सरकारी कार्यालयमा काम गर्न सकिन्छ । हाम्रा देशका रेडियो, टीभीहरुमा यी सबै भाषामा समानुपातिक रुपमा कार्यक्रमहरु प्रसारण गरिन्छ । हाम्रो देशको सञ्चारमाध्यमहरु समावेशी छन् । हाम्रो देश स्थापनाकालको संक्रमणबाट गुज्रिरहेको भए तापनि जनताले भनेको र सुझाव दिएको कुरालाई प्रत्यक्षतः व्यवहारमा उतार्ने परिपाटीको विकास भई सकेको छ ।

यो कुरा बताई रहँदा, एउटा कुरा याद आयो, तपाईको देशमा अहिले पनि त्यहि पुरानो थोत्रो संसदीय व्यवस्था छ की त्यसमा केही परिवर्तन भएको छ ? क्रृपया लेख्ने प्रयास गर्नुहोला । हाम्रो देश १० वर्षको बाल्यावस्थामा भए तापनि लेडसेडिङ्ग मुक्त छ । हाम्रो देशका प्रधानमन्त्रीलाई मितव्ययिता प्रदर्शन गर्न ‘मुस्ताङ्ग’ चढ्नु पर्दैन । मर्सिडिज, पजेरो चढ्ने आँट अधिकांश जनताको भई सकेको छ । हाम्रो देशको ‘पर क्यापिटा ईन्कम’ स्वीटजरल्याण्डको हाराहारीमा पुगिसकेको छ । स्वीटजरल्याण्डबाट याद आयो, प्रचण्डजीको हालखबर कस्तो छ ? गोरु गाडा चढेर केपी ओलीजी अमेरिका पुगि सक्नु भयो की ? अहिलेसम्म त उहाँको आँप झरिसकेको हुनु पर्छ । झटारो हान्ने कार्य बन्द गर्नुभयो की भएन ? प्रधानमन्त्रीज्यू, कति लेखुँ । कलम बिसाउने समय भई सक्यो । दुखः मात्र यति कुराको छ, की हाम्रो देशमा प्राकृतिक विविधताको अभाव छ । आजकल हाम्रो देशमा हुरी चल्दा तपाईको देशले छेक्दैन । हामीलाई ईच्छा भए पनि हाम्रो घामले तपार्ईको देशलाई सेक्न सक्दैनौ । केही छैन । म मूल कुरा तिर आउन चाहन्छु । आफ्नो छिमेकी देशको भ्रमणमा निस्कनु भएकोमा स्वागत गर्न चाहन्छु, राजधानी जनकपुरबाट । तर क्रृपया जनकपुर नआउनु होला । कुनै पनि देशका प्रधानमन्त्रीले निम्तो नगर्दासम्म त्यहाँ जानु ‘सार्वभौम’ राष्ट्रको प्रधानमन्त्रीका लागि शोभनिय होइन । व्यक्तिगत रुपले धार्मिक वा अन्य यात्रामा आउनुभयो भने कुनै आपत्ति छैन । तर आउँदा पासपोर्ट लिएर मात्र आउनु होला । हाम्रो देशमा प्रवेशाज्ञा बिना छिर्नु कानुनी बन्देज लगाइएको छ ।

प्रधानमन्त्रीज्यू, हामी मधेश देशका नागरिक सदैव नेपालको शान्ति सुरक्षा, अमन चयन तथा समृद्धिको आकांक्षी रहँदै आएका छौं । तपाई पनि मधेशको आत्मसम्मानको खयाल गर्नु हुन्छ भन्ने अपेक्षा गरेको छु । सक्नु हुन्छ भने आफ्नो देशको जनतालाई भन्नु होला, मधेशीहरु बिहारी होइनन । सक्नुहुन्न भने त्यसको पनि आवश्यक्त पनि छैन । समय क्रममा उनीहरु आफै बुझ्दै जाने छन् ।

अस्तु ।

तपाईको शुभचिन्तक, भूतपूर्व नेपाली

स्पष्टीकरण पत्र -पढी सकेपछि कृपया मन नदुखाउनु होला । मैले जानेर यो सपना हेरेको होईन । सपनामाथि मेरो शरीरको कुनै पनि प्रकारको नियन्त्रण छैन । यो पत्र आग्रह हो, बेलैमा समस्या समाधान गर्नका लागि । यहाँ मेरो राष्ट्रियतामा शंका गर्नुभयो भने यो तपाईको दृष्टिदोष मात्र हुनेछ । यो पत्रको परिकल्पनाकार मेरो अनुज भाई ऋषिकुमार झालाई धन्यवाद दिन चाहन्छु । एउटा सचेत नागरिकको हैसियतमा राष्ट्रप्रतिको उनको चिन्तालाई नमन गर्न चाहन्छु ।